बैतडी : बैतडीको पुर्चौडीमा रहेको ईलाका प्रशासन कार्यालयमा पहिलो पटक अधिकृत अधिकारीको उपस्थितिपछि सेवा प्रवाह तीव्र र प्रभावकारी भएको छ ।
वि.सं. २०७३ साल असार ५ गते स्थापना भएको उक्त कार्यालयमा झन्डै १० वर्षपछि पहिलो पटक अधिकृत आएका हुन् । शंकरबहादुर बोहरा ईलाका प्रशासन पुर्चौडीमा अधिकृतका रूपमा आएका पहिलो व्यक्ति हुन् । यसअघि अधिकृतको दरबन्दी रहे पनि कार्यालय नायब सुब्बाले नै सञ्चालन हुँदै आएको थियो ।
पुर्चौडी नगरपालिका र डिलाशैनी गाउँपालिका–४ का करिब ४० हजार जनसंख्यालाई लक्षित गरी स्थापना गरिएको ईलाका प्रशासन कार्यालयमा अधिकृत नहुँदा नागरिकतासम्बन्धी सेवा प्रभावित हुँदै आएको थियो । झण्डै ७ महिनासम्म नायब सुब्बा समेत नहुँदा नागरिकता बनाउने कामका लागि जिल्लामै धाउनु पर्ने बाध्यता थियो ।
अब अधिकृतको उपस्थितिसँगै नागरिकता वितरण लगायतका सेवा धमाधम भइरहेका छन्। पुर्चौडी नगरपालिकाका प्रमुख दीपक ब. बमका अनुसार अधिकृत आएसँगै सदरमुकाम जानुपर्ने झन्झट हटेको छ । यसले जिल्ला प्रशासन कार्यालयमा पर्ने सेवाग्राहीको चाप समेत कम भएको छ । स्थापना यता ईलाका प्रशासन कार्यालय पुर्चौडीबाट हालसम्म ९ हजार ४९० नयाँ नागरिकता र ३ हजार ५९० प्रतिलिपि नागरिकता प्रमाणपत्र जारी भइसकेका छन् ।
प्रतिक्रिया