२०८२ असार ०३ गते मङ्गलबार
ट्रेन्डिङ

दशरथचन्द-१ गुरूखाेला पूर्णखोप सुनिश्चित वडा घोषणा

SansherOnline SansherOnline
सोमबार २०, जेठ २०८२ ०७:१३
दशरथचन्द-१ गुरूखाेला पूर्णखोप सुनिश्चित वडा घोषणा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–१ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको गुरुखोला स्वास्थ्यचौकीमा प्रमुख लवदेव भट्टले बताउनुभयो ।

वडाभित्र रहेका खोप पाउनुपर्ने ५ बर्षमुनिका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाइसकेको एकीन भएपछि वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो ।

नगरपालिकाका ११ ओटै वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणापछि नगरपालिकालाई पनि पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गर्ने तयारी रहेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताउनुभयो ।

हरेक बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन गरेपछि हरेक बर्ष वडा र पालिकालाई पूर्णखोप घोषणा गर्ने गरिएको जोशीले बताउनुभयो। बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध खोप दिने गरिएको छ । ती खोपहरु पाए/नपाएको एकीन गर्न घरधुरी सर्वेक्षण गर्ने गरिएको र त्यसपछि पूर्णखोप सुनिश्चित वडा घोषणा गर्ने गरिएको जोशीले बताउनुभयो ।

दशरथचन्द नगरपालिका १ का वडा अध्यक्ष विष्णुदत्त भट्टको अध्यक्षतामा भएको पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए । यस्तै दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्द कार्यक्रममा बिशिष्ट अतिथी रहेकी थिइन् ।

पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख जोशीले यसको दिगोपनाका लागि नगरपालिकाकातर्फबाट प्रतिबद्धता समेत व्यक्त गरेका छन् । आधारभूत स्वास्थ्य सेवामा नगरबासीको पहुँच पुर्याउन आफू क्रियाशील रहेको उनले बताउनुभयो।

यस्तै उपप्रमुख कौशिला चन्दले खोप पाउनु हरेक बालबालिकाहरुको नैसर्गिक अधिकार भएकाले पूर्णखोप सुनिश्चित घोषणा गर्नु आवश्यक रहेको बताइन् । खोप कार्यक्रमले बालमृत्यु रोकथाममा ठूलो सहयोग पुर्याएको उनले बताइन् ।

साेहि अवसरमा उपप्रमुख चन्दले नगरउपप्रमुखकाे काेसेली समेत वितरण गरेका थिए ।

दशरथचन्द नगरपालिकाका ११ ओटा वडामध्ये वडा नं १, २, ४, ५, ९, १० र ११ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिसकिएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताउनुभयो । बाँकी रहेका वडाहरु पनि चाँडै पूर्णखोप सुनिश्चित वडा घोषणा गरिने जोशीले बताउनुभयो ।

प्रतिक्रिया