बैतडी : बैतडीको सिगाश गाउँपालिका-१ नाचन्थलीमा अहिले पनि आधारभूत सुविधाको अभाव छ। करिब २० परिवार बसोबास गर्ने यस ठाउँमा न त विजुलीको सुविधा छ, न त खानेपानीको व्यवस्था स्थानीयहरू पानीका लागि दैनिक झण्डै २ घण्टा हिँड्न बाध्य छन्।
नाचन्थलीमा पानी र विजुली अभावले स्थानीयवासीहरू ठूलो समस्यामा परेका छन्। लामो समयदेखि समाधानको प्रतीक्षा गरिरहेका बासिन्दाहरूले बारम्बार माग राखे पनि समस्या जस्ताको तस्तै रहेको बताएका छन्।
स्थानीय राज बहादुर चन्द भन्छन् हामीले विजुलीका लागि पटक–पटक वडा कार्यालयमा गुहार गर्यौं तर कसैले सुनुवाइ गरेन। नाचन्थलीका बासिन्दा अहिले पनि अन्धकारमै रात बिताउन बाध्य छन्। राष्ट्रिय लाइन नाचन्थली हुँदै गइसकेको भए पनि आवाज उठाउने कोही नभएपछि २० परिवार अझै पनि टुकी बालेर बस्नुपर्ने अवस्थामा छन् ।
राष्ट्रिय लाइन हाम्रो घर हुँदै गइसक्यो तर बोलिदिने मान्छे नै छैन। हामी अँध्यारोमै बस्न बाध्य छौँ स्थानीय चनरी लुहारले भने । अब सरोकारवालाले नाचन्थलीका बासिन्दाको समस्यामा ध्यान दिने कि ? यो विषयमा वडा सरकाले र सम्बन्धित निकायले चासो दिनुपर्ने स्थानीयको माग छ।
त्यस्तै अर्का स्थानीय किशन महराले दुःख व्यक्त गर्दै भने अब मरुञ्जेल पानी बोकेरै हिँड्नुपर्ने हो कि जस्तो छ । सरकारको ध्यान कहिले पुग्छ । नाचन्थलीका बासिन्दाले खानेपानी र विजुली सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। स्थानीय स्तरमा पटक–पटक पहल गरे पनि कुनै प्रगति नभएको गुनासो उनीहरूको छ।
प्रतिक्रिया